तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको रामपुरमा २ सय वर्ष पुरानो ऐतिहासिक पाटीको पुन निर्माण शुरु

रामपुर, पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ खोप्टारमा रहेको २ सय वर्ष पुरानो ऐतिहासिक पाटीको पुन निर्माण शुरु भएको छ । ऐतिहासिक सम्पदाको रुपमा रहेको पाटीको पुरातत्त्व विभाग मार्फत नेपाल सरकारको आर्थिक सहयोगमा पुरानै शैलीमा पुन निर्माण शुरु भएको छ ।

रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले शिलान्यास गदै नगर भित्रका सम्पदाहरूको संरक्षण र प्रवर्द्धनको लागि नगरपालिका प्रतिबद्ध भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनसँग जोडिएको क्षेत्रको लागि आवश्यक पहल गरिरहेको बताउँदै ऐतिहासिक तथा धार्मिक सम्पदाबाट थप ऊर्जा प्राप्त हुने बताउनुभयो । उहाँले आध्यात्मिक ज्ञानले नै मानिसलाई सभ्य र नैतिकवान् नागरिक तयार गर्नै सहयोग गर्छ भन्नु भयो ।

लक्ष्मी नारायण गुठी मार्फत सञ्चालन हुने गरी तत्कालीन समयमा बटुवाहरूलाई गाँस र बासको व्यवस्था गर्ने तुलसीराम रेग्मीले पाटी निर्माण गरेको र केलादि घाट नाका भएर बटौलि, भारत तथा पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा र नवलपरासी सहित यस क्षेत्रका बटुवाहरूको लागि आश्रय प्रदान गर्ने ऐतिहासिक पाटीलाई २०७२ सालको भूकम्पले थप क्षति गरेको थियो । 

क्षति भएको लामो समय सम्म पुन निर्माणको काम हुन नसकेको ऐतिहासिक धार्मिक महत्त्व बोकेको पाटीको पुर्न निर्माणको लागि  आज बाट काम शुरु भएको हो । पुन निर्माणको लागि कर सहित ३ करोड ६ लाख ५३ हजार ६ सय ६२ रुपैयाँको लागतमा काम सम्पन्न हुने गरी सम्झौता भएको र २०८० साल असार ५ गते काम सम्पन्न गर्नु पर्ने  लक्ष्मी नारायण गुठिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । पुनर्निर्माण हुने धार्मिक महत्त्व बोकेको पाटी  करिब २ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button