३ अर्ब २५ करोडमा बिक्री हुँदै पोखरोको मणिपाल शिक्षण अस्पताल

पोखरा । लामो समयदेखि पोखरामा सञ्चालन रहेको मणिपाल शिक्षण अस्पताल बिक्री हुने भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीमा रहेको मणिपाल मेडिकल कलेज बतास अगनाइजेसन र अटोवेज ग्रुपले खरिद गर्न लागेको हो ।
९ सय शय्याको क्षमता रहेको कलेजले वार्षिक एक सय विद्यार्थीहरूलाई एमबिबिएसमा अध्यापन गराउँदै आएको थियो ।
भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा सञ्चालन भइरहेको कलेज २७ वर्षपछि बतास समूहले खरिद गर्न लागेको हो ।
कूल ३ अर्ब २५ करोडमा खरिद गर्न लागिएको मणिपाल मेडिकल कलेजमा बतास अगनाइजेसनको ६० प्रतिशत तथा अटोवेज ग्रुपको ४० प्रतिशत शेयर रहनेछ ।
मेडिकल कलेज खरिदसम्बन्धी सबै तयारी पूरा भएको र अन्तिम सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको छ ।
शुक्रवार एक भर्चुअल माध्यमबाट सेयर खरिद सम्झौता (एसपीए) हुने बतास अगनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बताउनुभयो ।
मणिपालका सञ्चालक भारतीय मूलका नागरिकहरूको लगानी रहेको थियो ।
मणिपाल मेडिकल कलेज तथा अस्पतालको आफ्नै ३० रोपनी जग्गासहित १० लाख वर्ग फिटमा रहेको भवन तथा पूर्वाधार रहेको छ ।
नेपालमा बाह्य लगानीको पहिलो मेडिकल कलेजका रुपमा सन् १९९४ बाट सञ्चालनमा आएको यो अस्पतालमा करिब १४ सय जना कर्मचारी रहेको छन् ।
मेडिकल कलेजको सेयर हस्तान्तरणपछि बोर्डमा चार जना रहने सहमति भइसकेको छ । जसअनुसार बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष तथा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष र बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहने सहमति समेत भइसकेको अध्यक्ष बतासले बताउनुभयो ।
अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना रहेको अध्यक्ष उहाँले बताउनुभयो ।
पोखराका बिरामीले नसा वा मुटु रोगको उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौँ जान नपरोस् भनेर नै हामीले यहाँ नै लगानी गरेका हौँ बतासले भन्नुभयो ।
आफ्नो स्वामित्वमा आएपछि डेढ अर्ब लगानी गरेर पूर्वाधार विकास गर्दै पोखरामा डा.पाउन नसेकेको अवस्थामा विदेशी कम्पनीसँगको सहकार्यमा रोवोटिक अप्रेसनमा पनि जाने योजना रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्