तपाईँ सुन्दै हुनुहुन्छः

अछामका ग्रामीण सडक हिलाम्मे, तीन गुणा बढी भाडा असुली

अछाम ।  वर्षात हुने बित्तिकै अछामका ग्रामीण सडक हिलाम्मे हुने गरेको पाइएको छ । सवारी\साधन त के मानिसले हिँड्न नसक्ने अवस्था समेत हुने गरेको पाइएको हो । 

जिल्लाको कमलबजार नगरपालिकादेखि ढकारी गाउँपालिका जोड्ने सडक खण्ड हिलाम्मे भएपछि सवारी साधन आवतजावतमा समस्या भएको छ ।

सवारी साधन दैनिक आवतजावत गर्न निकै समस्या भएको सवारी चालकहरूले बताएका छन् । बर्षातका कारण कच्ची सडकहरू ठाउँ ठाउँमा भत्किनुका साथै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुहरूले सवारी साधन धकेल्दै यात्रा गर्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको बताएका छन् । 

सडकको अवस्था हेर्ने हो भने खेतमा रोपाइ गरेको जस्तो देखिने गरेको सवारी चालकहरूको बताएका छन्  । वर्षायाम सुरु भएसँगै सडकमा सवारी साधन फस्ने तथा भासिने गरेको पिडा सवारी चालकले भोग्दै आएका छन् ।

यात्रा गर्ने सडक हिलाम्मे भएपछि स्थानीय नागरिक चिन्तित भएका छन् । ग्रामीण क्षेत्रका कच्ची सडक त्यसमाथि पानीले हिलाम्मे बाटोको यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको बताएका छन् ।

सडक हिलाम्मे भएसँगै सदरमुकामबाट लिनुपर्ने सेवाका लागि स्थानीय नागरिक सहजै सदरमुकाम पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय नागरिकले गुनासो गरेका छन् । हिलाम्मे सडकको मर्मत गरेर सवारीसाधन आवतजावतमा सहजता दिलाउन स्थानीहरूले स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

एकातिर सडक बिग्रेका छन् भने अर्कोतिर भाडा समेत चर्को असुल गर्ने गरिएको छ । सवारी साधनले मनलाग्दी भाडा असुल गरिरहेको पाइएको छ । जिल्लाको जयगढ–रामारोशन खण्डमा जिपले प्रतियात्रु १ हजार भाडा असुल गरिरहेको पाइएको छ । 

यसअघि ३ सय रुपैयाँ भाडा दर रहेको उक्त करिब १२ किलोमिटर सडकमा अहिले तीन गुणा बढी १ हजार भाडा लिने गरेको स्थानीय मदन साउदले गुनासो गर्नुभयो ।

यस सम्बन्धमा छलफल गरी नयाँ भाडा दर कायम गर्ने अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button