तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वानुमान गलत हुँदा विपद्बाट धेरै क्षति

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वानुमान गलत हुँदा वर्षेनी प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको जनाएको छ । 

सञ्चारीका समूहले आज ललितपुरमा आयोजना गरेको विपद्को जोखिममा लैंगिकमैत्री सूचना प्रवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले  जल तथा मौसम विज्ञान विभागले यस वर्ष बढी पानी पर्ने अनुमान गरेको भए पनि कुन क्षेत्रमा बढी वर्षा हुन्छ भनेर यकिन नगर्दा बाढी पहिरोको विपद्लाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । 

कार्यकारी प्रमुख पोखरेलले विभिन्न प्राकृतिक प्रकोपमा परेकालाई उद्धार, राहत, र पुनर्स्थापना सम्बन्धमा प्राधिकरणले लैङ्गिक तथा समावेशी नीति बनाइरहेको  पनि जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाली सेनाका पूर्व रथी तथा कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)का प्रमुख कार्यकारी अधिकृत बलानन्द शर्माले सहि समयमा सहि सूचना सहि तरिकाले सम्प्रेषण गर्न नसक्दा नागरिकलाई धेरै विपद्बाट जोगाउन कठिन हुने गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार आरती चटौतले सरकारले हरेक विपद्को तयारी गर्दादेखि व्यवस्थापन गर्दा सम्मको कार्यलाई लैंगिकमैत्री बनाउनुपर्ने बताउनुभयो । 

त्यसै गरी सञ्चारीका समूहकी अध्यक्ष नितु पण्डितले कोभिड–१९ को महामारीलगायतका विद्मा सम्प्रेषण हुने सूचना लैंगिकमैत्री हुन नसकेको गुनासो गर्नुभयो । 

अन्तर्क्रियामा नागरिक दैनिकका सम्पादन गुणराज लुइँटेल, बाह्रखरी अनलाइनका सम्पादन प्रतीक प्रधान, नेपाल समाचारपत्रका सम्पादन कपिल काफ्ले लगायतले विपद्को सूचना सबै नागरिकका लागि अपरिहार्य भएकाले प्राथमिकतामा पर्ने बताउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button