हात्ती छेक्न विद्युतीय बार निर्माण गरिने
झापा । झापाको मेचीनगर–१४ चार आली सामुदायिक वनदेखि मागुरमाडी वनको मूल खण्डसम्म ५७.७ किलोमिटरमा जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारबार निर्माण गरिने भएको छ ।
चार आली सामुदायिक वनदेखि मागुरमाडी वन मूल खण्डसम्मको ६.३४ किलोमिटर र मागुरमाडी वन मूल खण्डको ५१.३६ किलोमिटरमा विद्युतीय तारबार निर्माण गर्ने तयारी गरिएको हो ।
हाललाई नगरभित्रका अधिकांश सामुदायिक वनलाई समेट्ने गरी निर्माण हुने ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले आगामी दिनमा तेलपानी सामुदायिक वनलाई समेत जोड्ने जनाइएको छ । क्रमागत बजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्नेछ ।
आज बुधवार मेचीनगर नगरपालिकाको सभाकक्षमा मानव हात्ती द्वन्द व्यवस्थापनका लागि यस क्षेत्रका १ नम्बर प्रदेशसभा सदस्य, बुद्धशान्ति गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष नगरका जनप्रतिनिधिहरू, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि, नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबिच छलफल भएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको सहभागीहरूले मेचीनगरवासी जङ्गली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जङ्गली हात्तीको आतङ्क दीर्घकालीन समाधानमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्