अनुदान लिन उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै

जुम्ला । जुम्लामा एक वर्षको अवधिमा एक हजार बढी उद्योग दर्ता भएका छन् ।
गत आव २०७७/०७८ मा जुम्लामा १ हजार ७६ वटा उद्योग दर्ता भएका हुन् ।
उद्योग दर्ताको सङ्ख्या बढेसँगै आयात रोकिने, कच्चा पदार्थको प्रशोधन गर्ने र उत्पादन बढ्नुपर्ने अवस्थामा जुम्लाको फलफूल, तरकारी, जडीबुटी, रैथाने बाली प्रशोधन हुन नसकी, थन्किने अवस्था छ ।
रोजगारी सृजना, आर्थिक आम्दानी, उत्पादन वृद्धि र कच्चा पदार्थ प्रशोधन गर्नुभन्दा पनि सरकारी अनुदान तथा सहुलियत कर्जा पचाउनका लागि मात्रै उद्योग दर्ता गर्ने, अनुदान सकिए पश्चात् उद्योग बन्द गर्ने भएकै कारण जुम्लामा औद्योगीकरण बढ्न सकेको छैन ।
जुम्लामा गत आवमा मात्रै दर्ता भएका एक हजार उद्योग मध्ये ९० प्रतिशत उद्योग सञ्चालित छैनन् ।
स्थानीय तह र प्रदेश सरकारको कृषि अनुदान, सहुलियत कर्जा पाउनका लागि मात्रै उद्योग दर्ता गर्ने गलत प्रबृिद्ध मौलाएपछि जुम्लामा उद्योग दर्ता गुणात्मकभन्दा सङ्ख्यात्मक मात्रै बढेको स्पष्ट देखिन्छ ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम न्यौपाने भन्नुहुन्छ, “जुम्लामा अनुदान पाउन उद्योग दर्ता गर्नेको सङ्ख्या धेरै छन् । हालसम्म जुम्लामा ३ हजार १ सय ७६ उद्योग दर्ता भएका छन् । तर १० प्रतिशतभन्दा बढी उद्योग सञ्चालित छैनन् । भने, ९० प्रतिशत उद्योग अनुदानमै सीमित छ । यसले जुम्लाको औद्योगीकरण विकास सम्भव छैन ।”
जुम्लामा दर्ता भएका ३ हजार एक सय बढी उद्योग मध्ये दुई हजार ७ सय १५ उद्योग वाणिज्य र करिब ५ सय उद्योग उत्पादनमुखी उद्योग रहेका छन् ।
दर्ता भएका नयाँ उद्योगको अनुगमन गर्दा अनुदान पाउनका लागि मात्रै दर्ता गरेका सबै उद्योग बन्द रहेको समेत प्रमुख न्यौपानेले बताउनुभयो ।
जुम्लामा हालसम्म दर्ता भएका ३ हजार १ सय उद्योग मध्ये ९० प्रतिशत उद्योग सञ्चालित छैनन् । अनुदान हुन्जेल मात्रै उद्योग रहने र अनुदान सकिएपछि बन्द गर्ने गरेका छन् ।
निर्वाहमुखी, नाफामुखी र व्यावसायिक मैत्री उद्योगभन्दा अनुदानमुखी उद्योगी भएकाले अनुदान सकिएपश्चात् उद्योगमा ताला लगाउनेको सङ्ख्या बढ्दै गएको छ ।
जुम्लामा दर्ता भएका अधिकांश उद्योग कृषि फर्म, कृषि औजार, कुटानी–पिसानी उद्योग रहेका छन् । अनुदान लिन उद्योगहरू थपिने क्रम बढे पनि उपलब्धि शून्य रहेको छ ।
गत आवमा उद्योग दर्ताबापत जुम्लामा ३१ लाख ७४ हजार राजस्व उठेको छ ।








प्रतिक्रिया राख्नुहोस्