मैथिलीका संस्कार गीतहरूको संरक्षणमा विज्ञहरूको जोड

जनकपुरधाम । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ एवं संस्कृतिविद् रामभरोस कापडीले मैथिलीका संस्कार गीतलाई पाठ्यक्रममा समावेश गरी अध्ययन – अन्वेषण गराउनुपर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
संस्कृति विद् कापडीले सखी बहिनपा मैथिलानी समूहको स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित मैथिली सोहर (जन्म गीत ) प्रतियोगितामामा विजयी हुनु भएका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै उहाँले संस्कार गीत आधुनिकताबाट अतिक्रमित हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
संस्कार जीवन पद्धति भएकाले यसको संरक्षण, विकास र रक्षाबाट नै जीवनको स्पष्टता हुनसक्ने प्रसङ्ग उल्लेख गर्दे संस्कृतिविद् कापडीले लोप हुन लागेको संस्कार गीतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।
संस्कृति विद् कापडीले ग्रामीण क्षेत्रमा गाइने जन्मदेखि मृत्युसम्मका संस्कार गीतको सङ्कलन र पुस्तक प्रकाशन गर्नुपर्ने खाँचो औँल्याउनु हुँदै लोप हुन लागेको मैथिलीको संस्कार गीतको संरक्षणका लागि सरोकारवाला निकाय गम्भीर हुन आवश्यक भएको बताउनुभयो ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य श्यामकुमार मिश्रले संस्कार गीतलाई लोप हुनबाट बचाउन मैथिली नै सजग भएर आफ्ना सन्तानमा हस्तान्तरण गर्न आवश्यक भएको बताउनुभयो ।

नारी शक्ति सङ्गठित र सजग भएमा मिथिलाको संस्कृति कहिल्यै पनि लोप हुन नसक्ने बताउनुभयो ।
साहित्यकार श्यामसुन्दर शशिले संस्कार गीत अनमोल खजाना भएकाले यसलाई पुस्तामा हस्तान्तरण गरी संरक्षण गर्ने दायित्व सबैको भएको बताउनुभयो ।
सखी बहिनपाका अभियानीहरू भारती चौधरी, पुनम झा मैथिल र बिन्दु ठाकुरले सखी बहिनपा समूह भाषा, सभ्यता, संस्कृति, कला, उद्यमको रक्षामूलक अभियान स्थापनाकालदेखि नै गर्दै आएको जानकारी दिनुभयो ।
सखी बहिनापाका अभियानी सुनिता मिश्रको अध्यक्षतामा भएको सो प्रतियोगितामा मीरा पाठक प्रथम, मोती झा द्वितीय र रिता मल्लिक तृतीय तथा सलोनी साह , चन्द्रकला राउत, रूक्का मिश्र, मीना ठाकुर, शिल्पी मिश्र, नमिता ठाकुर, डा. गायत्री झाले सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।

कार्यक्रममा कलाकारहरू नवीन मिश्र र सङ्गीता देव तथा साहित्यकार श्यामसुन्दर शशि निर्णायक रहनु भएको सिो प्रतियोगितामा कलाकार पूर्णकला मिश्र ,सङ्गीता देव , प्रियाशा चौधरीले अप्रतियोगी संस्कार गीत प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा अरुणा मिश्र, बिन्दु ठाकुर , भारती चौधरी , सुनिता मिश्र र पुनम झा मैथिलद्वारा गाइएको “ पाँच सोहागिन ” नामक वैवाहिक संस्कार गीतको एल्बम पनि सार्वजनिक गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्