तपाईँ सुन्दै हुनुहुन्छः

विदेश बसेका युवा एसइई उत्तीर्ण

राजविराज । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको  माध्यमिक शिक्षा परीक्षा (एसइई)  उत्तीर्ण गराएका विषयमा छानबिन सुरुवात गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थपेर २.७५ जीपीए ल्याई एसइई पास गराएका विषमा छानबिन सुरु गरिएको हो । 

उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसइई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको  शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एसइई पास गराउने   विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाई सकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । ”

विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको बताउनुभयो । 

उहाँले विद्यार्थीको भौतिक उपस्थिति विना अङ्क दिनु परेको तथा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिनुभयो । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताउनुभयो ।  नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । 

गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशङ्का गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । 

कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसइईको नतिजामा अनियमितता गरेको स्थानीयवासीको आरोप छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button