तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु कार्यालयमा स्थानीय तहलाई बार अनुसार सेवा

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय दमौली तनहुँले जिल्लाका स्थानीय तहलाई बार अनुसार सेवा दिने भएको छ । घरेलुले जिल्लाका दश स्थानीय तहलाई भदौ ९ गते बुधवारदेखि बार अनुसार सेवा दिन लागेको हो । 


कोरोना भाइरसको बढ्दो जोखिम र कार्यालयमा समेत भिडभाड बढेकाले बार अनुसार स्थानीय तहलाई सेवा दिन लागेको घरेलु कार्यालयले जनाएको छ । मङ्गलवार घरेलुले जारी गरेको सूचनामा ‘भदौ ९ गतेदेखि अर्को सूचना नहुँदासम्म उक्त नियम लागु हुन्छ ।’ भनिएको छ । 


कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गरी कार्यालयबाट प्रवाह हुने उद्योग र वाणिज्य प्रशासन सम्बन्धी सेवा व्यवस्थित र सुरक्षित बनाउन जिल्ला स्थानीयका तहलाई बार अनुसार सेवा दिन लागेको कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार आइतबार र बुधवार शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिका, सोमबार र बिहीबार व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिका, मङ्गलवार र शुक्रवार भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाका स्थानीयलाई सेवा दिइने छ । 


यस्तै ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकाका स्थानीयले जुनसुकै बार सेवा पाउनेछन् । सदरमुकामबाट टाढा पर्ने र सेवाग्राही पनि न्यून हुने भएकाले आइतबारदेखि शुक्रवारसम्म जुनसुकै बार सेवा दिने घरेलुले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button