व्यास नगरपालिकाको खोप केन्द्रमा अत्यधिक भिडभाड, सङ्क्रमणको उच्च जोखिम

तनहुँ । तनहुँको व्यास नगरपालिकाले सोमबारदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरपालिकाले सोमबार र मङ्गलवार नगरभित्रका व्यवसायी, १८ वर्ष उमेर पुरा भएका १२ कक्षाका विद्यार्थी, सीमाबाट आएका नेपाली तथा यस अघि छुट भएका नागरिकलाई खोप दिएको हो ।
नगरपालिकाले कोरोना विरुद्धको एस्ट्राजेनेका खोप दिएको हो । सोमबार व्यास नगरपालिका भित्र खोप लगाउनेहरूको भिड अत्यधिक रहेको थियो । सोमबार नगरपालिकाले ५८८ जना विद्यार्थी, २९८ जना व्यवसायी र ५५ जना दोस्रो डोज लगाउन छुटाएकाहरू गरी ९४१ जनालाई खोप दिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।
खोपका लागी लाइन बस्दा मास्क लगाएको भए पनि भौतिक दुरी कायम भएका थिएनन् । व्यास नगरपालिका लाइन व्यवस्थापनमा चुकेको र खोप केन्द्र भद्रगोल भएको खोप लगाउन आएका एक व्यवसायीले बताउनुभयो । लाइनहरू पनि अव्यवस्थित र मानिसहरूबीच आपसमा दूरी नहुँदा खोप लगाउने ठाउँबाटै सङ्क्रमित हुनसक्ने खतरा देखिएको त्यहाँ पुगेका व्यक्तिले बताउनुभएको छ । उहाँहरूले भद्रगोल देखिएका लाइनमा घण्टौँ कुरेपछि पालो पाउने गरेको बताउनुभयो ।
खोप केन्द्रमा खोप लगाउने स्वास्थ्यकर्मी पनि एक जना मात्रै भएकाले पनि खोप केन्द्रमा भिडभाड भएको व्यवसायी जगत पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘खोप केन्द्रमा लाइनको उचित व्यवस्थापन भएन ।’

व्यास नगरपालिकाले खोप लगाउने व्यवस्था मिलाएकोमा व्यास–४ का व्यवसायी अर्जुन खड्काले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो ‘यो खोप लाउन पाउँदा धेरै खुशी छु ।’ ‘कोरोनासँग लड्नका लागी खोप मात्रै एउटा विकल्प भएकाले सबैले खोप लगाउनुपर्छ ।’ खड्काले भन्नुभयो ‘निर्धक्क भएर कोरोना विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्छु ।’
कोरोना विरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको व्यास–१ निर्मल माविकी छात्रा अलिशा ठकुरीले बताउनुभयो ।उहाँले भन्नुभयो ‘खोप लगाएपछि सुरक्षित महसुस भएको छ, अब हामी परीक्षा दिनका लागी तयार छौँ ।’ उहाँले अगाडी थप्नुभयो ‘अब सरकारले खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिनुपर्छ ।’
एकै दिन धेरै जना आउँदा भिड अत्यधिक भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो । उहाँले भन्नुभयो ‘आज र भोलि लगाउने भने पनि खोप लगाउन आज नै एक्कासि धेरै जना आउँदा भिडभाड भयो ।’ उहाँले थप्नुभयो ‘१८ वर्ष उमेर पुरा नभएका १२ कक्षाका विद्यार्थीलाई भने खोप दिएका छैनौ ।’
लाइन व्यवस्थापनमा खटिएकाहरूको आफ्नै गुनासो छ । चाहेर पनि व्यवस्थित गर्न नसकिएको उहाँहरूको तर्क छ । लाइन व्यवस्थापनमा खटिएका एक प्रहरीका अनुसार जति सम्झाए पनि मानिसहरूले नटेरेको बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्