तपाईँ सुन्दै हुनुहुन्छः

खाँडाचक्रका विद्यालय सञ्चालनमा

खाँडाचक्र नगरपालिकाले नगर  क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । 

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जसीप्रसाद चौलागाँइले जानकारी दिनुभयो । 

समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा  विद्यालय सञ्चालनका लागि निर्देशन  दिएको थियो ।  “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी  विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”

यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले  तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाई का प्रमुख महेश देवकोटाले जानकारी दिनुभयो ।

“जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो,“त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।” 

विद्यालयमा स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ ।  

“विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,”उहाँले भन्नुभयो,“विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कुल गएर केही ज्ञान त सिक्न पाउँथे ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button