महिला क्रिकेट : कोशीसँग कर्णाली पराजित
सुर्खेत । कर्णाली प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले पहिलो जीत हासिल गरेको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णालीलाई ४९ रनले हराउँदै कोशीले पहिलो जीत निकालेको हो ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दबाबमा रहेको कोशीले कर्णालीमाथि सहज जीत निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा १२५ रन बनाएको थियो । रुविनाले आउट हुनुअघि एक छक्का र ९ चौकाको मद्दतमा ५७ बल खेलेर ६२ रन बनाइन् । कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजवंशीले १० र लकिता राजवंशीले ९ रन बनाए । विमला महला ७ र फुलकुमारी राजवंशी ६ रनमा नटआउट रहे ।
कर्णालीकी रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिए । जवाफी ब्याटिङ थालेको कर्णाली ७६ रनमा अलआउट भयो । कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् । यस्तै सोविका शाही १२, रमा बुढाथोकी १०, किरणकुमारी कुँवर ९, गंगा खड्का सात, अञ्जु गुरुङ चार, सोना चन्द ७, रविना बुढामगर तीन, जयन्ती चन्द र ओपनर रेखा सोनीले एक एक रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी लकिता राजवंशीले तीन विकेट हात पारिन् । चार ओभर बलिङ गरेकी लकिताले एक ओभर मेडर्न राख्दै मात्रै पाँच रन दिइन् । कर्णालीको ब्याटिङ लाइन ध्वस्त बनाएकी लकिता खेलको प्लेयर अफ द म्याच बनिन् । कोशीकी निशा शाह र एलिशा खादियाले दुई–दुई विकेट लिए भने कप्तान रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए ।
यसअघि सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी भएको छ । बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो । सुदूरका लागि ओपनर मनिषा बोहराले ३० रन बनाइन् । खेलको अन्तिमतिर ब्याटिङ गर्न आएकी अनु कडायतले महत्वपूर्ण २३ रनको नटआउट पारी खेलिन् । १५ बलको सामना गरेकी अनुले एक चौका र एक छक्काको मद्दतमा २३ रनको योगदान दिइन् । यस्तै कप्तान ऋतु कनौजियाले १४ बलमा नटआउट १५ रन बनाइन् । सुदूरपश्चिमकी स्नेहा महराले २२ रनको योगदान दिइन् ।
सुदूरपश्चिमका ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाए । सुदूरपश्चिमका मनिषा बोहरा र स्नेहा महरा रन आउट भएका थिए । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिइन् भने संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक/एक विकेट लिए ।
११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पुरा गर्यो । बागमतीका लागि ओपनर हेलिषा गुरुङले नटआउट ५५ रनको महत्वपूर्ण पाली खेलिन् । ५१ बलको सामना गरेकी उनले छ चौका प्रहार गरिन् । यस्तै लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० रन बनाइन् । बागमतीकी सेविका कुमारी यादवले तीन रनको योगदान दिइन् ।
सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महताराले एक एक विकेट लिए । बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन् ।








प्रतिक्रिया राख्नुहोस्