तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन हुनुभएको छ । 

नवगठित सरकारले प्युठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्य न्यायधिवक्तामा नियुक्त गरेको हो । शङ्कर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका यसअघिका मुख्य न्यायधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि साउन २७ गतेदेखि उक्त पद रिक्त रहेको थियो । 

सुवेदीलाई सोमबार साँझ उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराउनुभएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुल प्रसाद केसी, सभामुख पूर्ण बहादुर घर्ती लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको सहभागितामा दीक्षितले सुवेदीलाई शपथग्रहण गराउनुभएको थियो । 

मुख्यमन्त्री केसी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे लगत्तै उक्त शपथग्रहणमा सहभागी हुनुभएको थियो । मुख्य न्यायधिवक्ता सुवेदीले यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button