बालबिकास केन्द्रको गुणस्तर वृद्धि गर्न सामाग्री वितरण

सुनसरी । सुनसरीको बर्जुमा बालबिकास केन्द्रको गुणस्तर वृद्धि गर्न केन्द्रका सहजकर्तालाई साइकल तथा विद्यार्थीलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरिएको छ ।
गाउँपालिकाको ६ वटै वडामा रहेको ४४ बालबिकास केन्द्रका सहजकर्ताहरूलाई गाउँपालिकाले ४४ थान साइकल र बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई फुटबल, भलिबल, क्यारेमबोर्ड, ब्याडमिन्टन, ह्वाइटबोर्ड कापी, कलम, स्केल, डिजिटल सिलेट, लुडो जस्ता लगायत विभिन्न आठ लाख पचास हजार बराबरको सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बालबिकासका सहजकर्तालाई साइकल वितरण गर्दै थप जिम्मेवारी थपिएको शिक्षाको क्षेत्रमा आफ्नो भूमिका अझ बढाउन सुझाव दिँदै, बालबिकास केन्द्रमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरूको पढाइका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुग्ने अधिकृत घिमिरेले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सङ्गीता रायले कोरोनाको जोखिमका बिचमा सहजकर्ताहरूले खेलेको भूमिका सह्रानीय रहेको बताउँदै सहजकर्ताहरूको उचित माग पूरा गर्न गाउँपालिका पछाडि नहट्ने स्पष्ट गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत बाबुराम कार्की, शिक्षा सहायक हेमराज दाहाल, विद्यालयका प्रधानाध्यापकहरू, बालबिकास केन्द्रका प्रमुखहरू, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्