तपाईँ सुन्दै हुनुहुन्छः

बराह ताल धार्मिक पर्यटकीयस्थलका रुपमा विकास हुँदै

गलेश्वर । निकै चर्चामा आएको म्याग्दीको मालिका गाउँपालिका–७स्थित बिममा रहेको बराह ताल आकर्षक र धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै आएको छ ।अर्को प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने पर्यटकलाई बाटोमै रोकेर केही समय तालमै रमाउनका आकर्षण गर्न सक्ने यो ताल मिथक र रहस्यको एक अनुपम स्थान पनि हो । 

कोरोना महामारी फैलिनुभन्दा अघि यहाँ रमाउनका लागि दैनिक चार÷पाँच सय पर्यटक  आउने गरेकामा सङ्क्रमण सुरु भएयता सुनसान देखिन थालेको छ । जैविक विविधताका कारण ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिने बिम निवासी  नवीन जुग्जालीले बताउनुभयो । 

रहस्यमय ताल

प्राचीनकालमा आमा छोरी बराहक्षेत्रमा घुम्न जाँदा बराह देवताले छोरीलाई लुकाए पछि आमा आफ्नो छोरीको वियोगमा तडपिदै खोज्न थालिन् ।  धेरै  दिनपछि  छोरी खोज्दै उक्त ताल नजिक पुगेकी आमाले चिच्याएर बोलाउँदा तालभित्रबाट छोरीले बोलेको आवाज सुनिन् ।

छोरीलाई बाहिर आउन आग्रह गर्दा आफ्नो बच्चा भइसकेकाले बाहिर आउन अनुमति नभएको बताइन् । आमाले बच्चालाई भएपनि हेर्न चाहन्छु भनी जिद्दी गरेकीले त्यहाँ एउटा सर्प त्यहाँ आयो,  यो देखेर आमा भागिन्  उता सर्प पनि मरेछ । साँझपख बराह घरमा आउँदा आफ्नो बच्चा मरेको देखेर सोधपुछ गर्दा उनकी पत्नी बनेकी ती छोरीले सबै वृत्तान्त बताइन् । 

यस घटनाले क्रोधित बनेका बराहले  तीर चलाए, त्यो तीर पत्नीको आँखामा लागेर रगतको धारो बग्यो । रगतले केही समयसम्म तालको रङ्ग रातो भएकामा  त्यसपछि कहिले निलो त कहिले खैरो हुने हुन थालेको बताइन्छ । तालमा रुखका सुकेका पात खसिरहे पनि त्यहाँ बस्ने एक जोडी चराले टिपेर फ्याँक्ने गर्दथे भन्ने किंवदन्ती छ । 

तालमा विसं १९२५ देखि पूजाआजा गर्ने परम्परा चलेको स्थानीय वृद्धवृद्धा बताउँछन् । एकचोटी घोडाले पानी पिउँदा केही वर्ष ताल नै सुकेको भन्ने अर्को  किंवदन्ती पनि सुनिन्छ । तिर्खाएका एक हलगोरुले तालको पानी पिउन लाग्दा बेपत्ता भएको  र  कसैले फोहर गरिदिएमा असिना, हुरी, खडेरी पर्ने स्थानीय वृद्धवृद्धा बताउँछन् ।

तालमा हिमाल र मन्दिरको प्रतिविम्ब 

उक्त तालमा मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिनाका साथै  भने त्यहाँबाट गुर्जा हिमाल, सुन्दर ग्रामीण बस्ती, वनजङ्गल र  पहाड अवलोकन गर्न सकिने वडा अध्यक्ष रेशम जुग्जाली बताउनुहुन्छ । बाइन्दाफाँट गाउँको माथि रहेको गोलो आकारको ताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिनेमा कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेल जोड दिनुहुन्छ ।

आधा रोपनी जमिनमा फैलिएको, तीन मिटर गहिरो र समुन्द्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लोपट्टि बराहथान छ । सोही थानको नजिकैबाट खसेको पानी तालमा मिसिन्छ । 

तालमा रहेका जलबराहाको पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाको केन्द्र दरबाङदेखि यहाँसम्म आइपुगेको सडकलाई विस्तार गरेर मालिकाधुरीसम्म जोड्न र यहाँको संरक्षण तथा प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको वडाध्यक्ष जुग्जाली बताउनुहुन्छ । यहाँ सडक विस्तार भएकाले ताललाई  आकर्षक  गन्तव्यका रुपमा विकास गर्न गुरुयोजना नै बनाइएको  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button