तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक विपत्तिमा परेकालाई राहत

स्याङ्जा । वालिङ नगरपालिकाभित्र रहेका प्राकृतिक विपत्तिमा परेका पीडितलाई राहत वितरण गरिएको छ । 

सामुदायिक बन उपभोक्ता महासङ्घ स्याङ्जाको अनुरोधमा एसोसिएसन अन्नपूर्ण नेपाल स्विस नामक संस्थाले प्राकृतिक विपत्तिमा परेका पीडितलाई राहत सहयोग गरेको हो । 

बाढी पहिरोबाट घरबार विहीन, विस्थापित र अति विपन्न २५ घरपरिवारलाई चामल, दाल, नुन र तेल राहत सहयोग वितरण गरिएको सामुदायिक बन उपभोक्ता महासङ्घ वालिङ नगर समितिका अध्यक्ष कमलप्रसाद गैह्रेले जानकारी दिनुभयो । 

कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले प्राकृतिक विपत्तिमा परिवार सहित घर गुमाएका पीडितलाई राहत वितरणले केही हदसम्म सहयोग प्राप्त भएको बताउनुभयो । 

वालिङ नगरपालिकाले पनि बाडीपीडित नागरिकलाई खाद्यान्न, स्वास्थ्य र बासको व्यवस्थापन गरेको जानकारी दिँदै उपप्रमुख तिवारीले प्राकृतिक विपत्तिमा वालिङ नगरपालिकाले ठुलो क्षति व्यहोरेको बताउनुभयो । 

राहत वितरणमा बन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश सदस्य ऋषिराम काफ्ले, रेडियो आँधी खोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, समाजसेवी भुपराज बगाले, महासङ्घका उपाध्यक्ष दीपेन्द्र गैह्रे, संस्थाका अञ्जली क्षेत्री र सन्तोषी जीसि लगायतले विपत्मा परेका नागरिकलाई सहयोग गर्नु नै धर्म भएको बताउनुभएको थियो । 

वालिङ १ मा ५ जना, २ मा २ जना, ८ मा ४ जना, ९ मा १ जना, १० मा १ जना, १३ मा ३ जना, १२ मा १ र १४ वडामा ७ जनाले राहत सहयोग प्राप्त गरेका छन् । 

एसोसिएसन अन्नपूर्ण संस्थाले मानव सेवामार्फत आमाबुवा गुमाएका बालबालिकालाई लालन पालन र अध्ययन गराउँदै सडक बालबालिकाको सेवारत काम गर्दै आएको संस्थाका सह सञ्चालक श्यामलाल रोकाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button