तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची ८ का ३४ घर पहिरोको जोखिममा

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका ८ केउरानीका ३४  घर  जोखिममा परेका छन् ।

पहिरोका कारण खैरेका २७ र छाँयालीका ७ घर जोखिममा परेका हुन् । स्थानीय कान्छामान दोङका अनुसार  पोहोर देखिनै पहिरो जान थालेको ठाउँमा यसपालि पनि पहिरो आएर  खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएको उहाँले बताउनुभयो । पटक पटक वडाका  प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।

खैरेका २७ र छाँयालीका ७ घर जोखिममा रहेको बताउँदै मेलम्ची ८का वडाध्यक्ष ठंकराज गिरीले उनीहरूलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञ सहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उहाँको भनाई छ ।

वडाध्यक्ष गिरीले  तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने बताउनुभयो  । उहाँले भुर्गवबिदको टोली ल्याई बस्तीको अध्ययन गराउन पनि माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button