दुई करोड ३५ लाख बढी रकमको नक्कली स्टिकर पक्राउ

भैरहवा । सशस्त्र प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकरसहित २ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमान्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) नक्कली स्टिकर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवाको एउटा घरमा अवैध मालबस्तु लुकाइएको भन्ने विशेष सूचनाको आधारमा हिजो सशस्त्र प्रहरी निरीक्षक अर्यालको कमान्डमा उक्त घरमा खानतलासी गरिएको थियो । खानतलासीबाट उक्त नक्कली स्टिकरको रहस्य खुलेको हो । पक्राउ परेको स्टिकरमा आन्तरिक राजस्व विभाग लेखिएको र उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबर रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको एसपी उप्रेतीको भनाई छ ।
५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकर मध्ये आयकरको १० लाख बराबर, मूल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबै भन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर रहेको छ ।
स्टिकर सँगै सशस्त्र प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा बस्ने २३ वर्षीय साहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्