मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक

काठमाडौँ । प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ ।
तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक, पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गर्नुभएको हो ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताउनुभयो ।
संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रेमिका बीचको वियोगलाई पनि उपन्यासमा प्रस्तुत गरिएको उहाँले सुनाउनुभयो । बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ ।
मानवअधिकारकर्मी पाठकले ३५ वर्षअघि नेपाल मानवअधिकार सङ्गठनमा काम गर्दा ऋषिकेश शाहले तिब्बतीयन शरणार्थीका विषयमा हेर्न भनेदेखि आफूले यसलाई नजिकबाट हेरिरहेको बताउनुभयो । नेपालमा तिब्बतीयन र भुटानी शरणार्थी विधिवतरूपमा बसेको उल्लेख गर्नुहुँदै उहाँले तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल रहेको बताउनुभयो ।
पूर्व स्वास्थ्य सचिव शर्माले लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना उपन्यासमार्फत अभिव्यक्त भएको बताउनुभयो । लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको सुनाउनुभयो ।
“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उहाँले भन्नुभयो । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेखेको बताउनुभयो । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथा व्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।
लेखकका हालसम्म चार वटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुनरुत्थान’ विसं २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुनरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उहाँका तीन वटा उपन्यास प्रकाशित भएका हुन् ।
लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’ मा आमाबाबुबाट छुट्टिनुपर्दाका पीडा, विशेष गरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ ।
विद्यालय जीवनमा साथीभाइका प्रेम पत्र लेख्दै उहाँ साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । विद्यालय जीवनमा लेखिएको प्रेम पत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो । त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रूपमा काम गरेकाले सफल भएको बताउनुहुन्छ ।रासस








प्रतिक्रिया राख्नुहोस्