होमस्टे तथा थारु सङ्ग्रहालयका लागि योगदान पुर्याउने पाँच जना सम्मानित
सप्तरी । सप्तरीमा पहिलो र प्रदेशमै दोस्रो होमस्टे तथा थारु सङ्ग्रहालयका लागि योगदान पुर्याएको भन्दै पत्रकारसहित पाँच जना सम्मानित हुनुभएको छ ।
कञ्चनरुप नगरपालिका–६ जमुवास्थित थारु सामुदायिक होमस्टे र थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना कालदेखि नै पत्रिकामार्फत निरन्तर रुपमा सकारात्मक प्रचार प्रसार गरी देश विदेशमा पहिचान गराउन सहयोग गरेबापत अन्नपूर्णकर्मी पत्रकार मनोहर पोखरेल सम्मानित हुनुभएको छ ।
यसैगरी होमस्टे र सङ्ग्रहालयको स्थापना, निर्माण र विकासमा योगदान पुर्याएको भन्दै कोसी टप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिम लिडर छोटेलाल चौधरी र जैविक विविधता संरक्षण विज्ञ नन्दलाल माझी सम्मानित हुनुभएको छ ।
थारु सङ्ग्रहालयमा आयोजित होमस्टे पर्यटन विकाससम्बन्धी कार्यक्रममा सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उहाँहरूलाई सम्मान गरेको हो । कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गर्नुभयो ।
थारु समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारु सामुदायिक होमस्टे र ०७७ कात्तिकमा थारु सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।








प्रतिक्रिया राख्नुहोस्