तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका युवा

सल्यान । देशका युवाहरू विदेशिनेक्रम नरोकिएको बेला सल्यानका युवाहरूले पनि तरकारी खेतीबाट वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गर्दै आइरहेका छन् ।
युवाहरू रोजगारी नपाएको भन्दै युवा पलायन भइरहँदा आफ्नै गाउँघरमा तरकारी खेती गरी स्वरोजगार बन्दै आइरहेका छन् ।
कुमाख गाउँपालिका –३ सेरीपाटाका लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमलतारामा १५ रोपनी जग्गा भाडामा लिएर विगत एक वर्षदेखि तरकारी खेती गर्दै आइरहनुभएको छ ।
वार्षिक एक रोपनीको ९ हजारका दरले भाडा दिने गरी जमिन लिजमा लिएको उहाँले बताउनुभयो । गाउँमा तरकारी खेती गरे पनि बजार नजिक नहुँदा शारदा नगरपालिका भाडामा जग्गा लिएर तरकारी खेती गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जमिनको भाडा र अन्य खर्च कटाएर वार्षिक ३ लाख ५० हजारसम्म आम्दानी हुँदै आइरहेको छ ।” यो वर्षदेखि डिभिजन वन कार्यालयसँग समन्वय गरेर जडीबुटीको नर्सरी पनि राखेको उहाँले बताउनुभयो ।
तरकारी खेती गर्दा मौसमीभन्दा बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने उहाँको भनाई छ । २० वर्षीय बुढा मगरले विदेश गएर रगत र पसिना बगाउनुभन्दा स्वदेशमै सानो कामबाट राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।
यस्तै शारदा नगरपालिका – ६ बरलाका प्रदीप वलीले पनि तरकारी खेतीबाट वार्षिक ४ लाखभन्दा बढी आम्दानी गर्दै आइरहनुभएको छ ।
तीन वर्ष खाडी मुलुक बिताउनुभएका वलीले विदेशको जति श्रम नेपालमा गर्ने हो भने विदेशको भन्दा नेपालमा धेरै आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो “विदेशको अनुभव पनि लिइयो तर विदेशको भन्दा नेपालमै धेरै राम्रो छ । विदेशको जति रगत पसिना यहाँ बगाउन सक्ने हो भने धेरै राम्रो कमाई गर्न सकिँदो रहेछ ।”
३ रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आइरहनुभएका वलीले विदेशमा जानुभन्दा स्वदेशमै तरकारी, बाख्रा, कुखुरा पालन गर्न सबैलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्