कक्षा १२ को परीक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले यथासम्भव छिटो कक्षा १२ को परीक्षा सञ्चालनको व्यवस्था मिलाउन राष्ट्रिय परीक्षा बोर्ड तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोना सङ्क्रमणको अवस्था मूल्याङ्कन गरी उचित प्रबन्धसहित यथाशीघ्र परीक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालय तथा मन्त्रालयका प्रतिनिधाहरूसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले विभिन्न चरणमा परीक्षा सञ्चालन गर्ने, परीक्षा केन्द्रहरू थप गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना हुने सुनिश्चित गर्ने, विद्यार्थीलाई पायक पर्ने जुनसुकै परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाउने जस्ता सम्भावित सबै विकल्पहरू खुल्ला गरी परीक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय लगायत केही परीक्षाहरू विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन हुनु तर कक्षा १२ को परीक्षा दुई पटकसम्म स्थगित हुनुले विद्यार्थीमा नकारात्मक असर र अन्यौलता बढेको बैठकको निष्कर्ष छ ।
बैठकमा सांसदहरू गिरीराजमणी पोख्रेल, मानबहादुर विश्वकर्मा, जीवनराम श्रेष्ठ, सुरेन्द्र यादव, नमिताकुमारी चौधरी लगायतले प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरी यथाशिध्र परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले आवश्यक सबै तयारी भइसकेको अवस्थामा परीक्षा स्थगित भएको हुनाले अनुमति पाउनासाथ परीक्षा सञ्चालनको व्यवस्था मिलाउन बोर्ड तयारी अवस्थामा रहेको बताउनुभयो ।
यस्तै बैठकले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्जिनियरिङ कलेजहरूले बढी शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थीहरूसँग छलफल गरी समस्या समाधान गर्न विश्वविद्यालयलाई अनुरोध गरेको छ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन शशीधरराम जोशीले निजी कलेजहरूले स्थलगत भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापको शुल्क समेत गरी एकमुष्ट रुपमा विद्यार्थीसँग शुल्क उठाउने गरेको र अहिले कोरोना महामारीका कारण ती क्रियाकलापहरू सञ्चालन नहुँदा पनि शुल्क नघटाएको बताउनुहुँदै समस्या समाधानका लागि शिक्षा मन्त्रालयले आवश्यक समन्वय गरिदिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्