मध्यतराईमा मुस्लिम समुदायद्वारा मोहर्रम पर्व हर्षोल्लासपूर्वक मनाउँदै
वीरगंज । वीरगंज तथा बारा, पर्सा रौतहटका मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक आजबाट मनाउन शुरु गरेका छन् ।
इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस पटक कोरोना सङ्क्रमणको कारण मोहर्रम पर्व घर घरमै बसेर मनाइने बीरगंज कुम्हाल टोल निवासी हाजी बाबुजान अलीले जानकारी दिनुभयो । उहाँले कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको बताउनुभयो ।
यस वर्ष पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।
मुस्लिम अगुवा एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियो यस वर्ष महामारीका कारण चाडपर्व घरभित्रै भिडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताउनुभयो ।
यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
सामाजिक दुरी कायम गरी पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले मनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
मुस्लिम समुदायका बाहुल्यता रहेको पर्साको जगरनाथपुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष जालिम मियाले मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रममा सार्वजनिक बिदा दिइएको बताउनुभयो ।
उहाँले कोरोना सङ्क्रमणका कारण सिर्जित असहज परिस्थितिसँगै सामाजिक दूरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन मुस्लिम धर्मावलम्बीलाई आग्रह गर्नुभयो ।
उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लास रुपमा पर्व मनाउन मियाले मुस्लिम धर्मावलम्बीलाई आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्