तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश : मन्त्रिहरुलाई आचारसंहिता लागु

पोखरा ।गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यहरूका लागि आचारसंहिता लागू गरेको छ । प्रदेश सुशासन ऐन २०७६को दफा २२को उपदफा(२) बमोजिम गण्डकी सरकारले आचारसंहिता जारी गरेको हो ।

जारी आचारसंहितामा मन्त्रिपरिषद् सदस्यले पालना गर्नेगरि ३० आचरणहरू उल्लेख गरिएको छ ।मन्त्रीले कास्की जिल्लाबाहिर जानुपर्दा वा विदेश भ्रमणमा जानु पूर्व मुख्यमन्त्रीको स्वीकृति लिनु पर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुने दान, पुरस्कार वा उपहार गण्डकी प्रदेश सरकारलाई बुझाउनु पर्ने संहितामा उल्लेख गरिएको छ । मन्त्रीहरूले उपलब्ध भएसम्म स्वदेशी र वातावरणमैत्री उत्पादनका सामाग्री मात्र प्रयोगमा ल्याउने भनिएको छ ।

मन्त्रालयको काम कारबाहीमा अत्यधिक आर्थिक मितव्ययिता अपनाउन मन्त्रीहरूलाई संहिताले भनेको छ । प्रदेश सरकारबाट उपलब्ध गराउने सेवा सुविधाका अवसरहरूको बाँडफाँड गर्दा नेपालको संविधान र प्रचलित कानुन बमोजिम सामाजिक न्याय र समावेशीकरण सम्बन्धी राज्यको नीतिलाई मन्त्री परिषद्ले अङ्गीकार गर्नु पर्ने उल्लेख गरिएको छ ।

मन्त्रलायहरुका विभिन्न गतिविधिहरू सरोकारवाला र विज्ञ समेतसँग सार्वजनिक सुनुवाइको कार्यक्रम निरन्तर गर्ने गराउन मन्त्रीहरूलाई भनिएको छ ।मन्त्रीहरूले आफ्नो कार्य सम्पादनमा सहजता ल्याउन स्वकीय वा निजी सचिव नियुक्ति गर्ने परिपाटीलाई योग्य र क्षमतावान् व्यक्ति मात्र चयन गर्न भनिएको छ । मन्त्रीको नजिकको नातेदारसँग सरकारी काम कारबाही बाहेकका कुनै व्यक्ति वा पदाधिकारीबाट आतिथ्यता लिने, दान वा उपहार स्वीकार गर्न नपाउने आचार संहितामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button