बीरगंज कारागारमा २ सय ४० बेड क्षमताको शयन कक्ष

बीरगंज । कारागारका कैदीबन्दीहरुको श्रमदानमा बीरगंज कारागार भित्र निर्माण गरिएको पुरुष तथा महिला बन्दी सुधार गृहको २ सय ४० बेड क्षमताको शयन कक्ष, शौचालय, सैलुन कक्ष, फोहोर विसर्जन टनेल, स्नान घर, भान्सा घरको आज एक समारोहकाबीच पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले उद्घाटन गर्नु भएको छ ।
जगदम्बा स्टिल प्रा.ली सिमराका पवन गुप्ता, शिव शक्ति उद्योग घ्यु प्रा.ली. राजकुमार जिगडिया, राजकुमार दारुका, लक्ष्मीनारायण ट्रेडर्स वीरगंज, अप्सरा सेनेटरी, तुल्सी टायल्स, पवन अग्रवाल, अशोक लाठ, नारायणी स्ट्रीप्स प्रा.ली., डि.एन.अग्रवाल लगायतका वीरगंजका उद्योगी व्यवसायीहरूको झण्डै ७० लाखभन्दा बढीको सामग्री सहयोगमा कारागारका दक्ष कैदीबन्दीहरुको श्रमदानमा निर्माण कार्य सम्पन्न भएको वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले वीरगंजमा सहयोगी हातहरूको कमी नभएको र यसलाई समन्वय गर्दै कारागारलाई यातना गृह नभई सुधार गृहको रुपमा विकसित गर्न कारागार प्रमुख कृष्ण गैरेसहित कारागार भित्रका कैदीबन्दी तथा आन्तरिक प्रशासनको योगदान महत्त्वपूर्ण रहेको कुरामा जोड दिनुभयो ।

सहयोगीदाताहरुले कारागार भित्र मर्मत सम्भारका साथै १० केभिए क्षमताका स्वचालित जेनेरेटर, फोहोर विसर्जन टर्नेलका साथै ६५ इन्चको रंगिन एलइडी टिभी समेत उपलब्ध गराएको कारागारका आन्तरिक प्रशासन प्रमुख दिनेश साह सोनारले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रहलाद कार्की, नेपाली सेना चण्डीप्रसाद गणका मेजर नैना बस्नेत, कारागारका प्रशासन प्रमुख नवराज बर्तौला लगायत दाता उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्