नेपाल मास्क अभियान सफल बनाउन वीरगंजमा होर्डिङबाट प्रचार प्रसार

वीरगंज । कोरोना संक्रमण नियन्त्रण अभियान अन्तरगत नेपाल मास्क अभियानलाई सफल बनाउन वीरगञ्जको विभिन्न ३ स्थानमा आज होर्डिङ बोर्ड लगाइएको छ ।
वीरगञ्ज महानगरपालिका र चाओसती ग्रुपको सहयोगमा नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले चेतनामूलक सन्देश दिने अभिप्रायले होर्डिङ बोर्ड लगाएको हो ।
होर्डिङ बोर्डले चेतनामूलक सन्देशका लागि महत्त्वपूर्ण भूमिका खेल्ने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताउनुभयो । कोरोना सङ्क्रमणबाट बच्न मास्कको विकल्प नभएको र आम नगरवासीलाई लापरबाही नगर्न नगर प्रमुख सरावगीले आग्रह गर्नुभयो ।
उहाँले आर्थिक, शैक्षिक लगायतका गतिविधिलाई चलायमान बनाउनका लागि पनि मास्क अनिवार्य भएको बताउँदै सबैको सहयोगमा असहज अवस्थाको अन्त्य गरेर सामान्य अवस्थामा वीरगंज फर्किएको हुँदा सामान्य लापरबाहीले फेरि लकडाउन गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सबै सचेत हुनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले उद्यमीसँगै जिम्मेवार नागरिक भएको नाताले सन्देश फैलाउने र सर्वसाधारणलाई सचेत बनाउने प्रयास अनुरूप होर्डिङ बोर्ड राखिएको बताउनुभयो ।
कार्यक्रममा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, हिरा बहादुर बुढाथोकी, दिलिपराज कार्की लगायतले मास्क अभियानलाई सफल पार्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बोर्ड लगाउन स्थान उपलब्ध गराउने चाओसती ग्रुपका सञ्चालक पवन कुमार रुंगटा, ज्योती रुंगटा, ओमप्रकाश खनाल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्