तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप वितरण गरेको हो । 

वीनपाका उपमेयर मोहनमाया ढकालले नगरक्षेत्र भित्रका ६४ वटा सामुदायिक विद्यालयलाई प्रविधियुक्त शिक्षा विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताउनु भयो । 

उहाँले कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट भए पनि तत्काल पठनपाठनलाई निरन्तरता दिन शिक्षकलाई ल्यापटप वितरण गरिएको जनाउनु भयो । ‘पहिलो चरणमा नगरपालिका भित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय १ वटाको दरले ल्यापटप वितरण गरेका छौँ,’ उहाँले भन्नु भयो, ‘शिक्षालाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीयता कायम राख्न आगामी दिनमा थप ल्यापटप विद्यालयलाई वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ ।’ 

उहाँले सामुदायिक विद्यालयको पठन–पाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकासलाई टेवा पुर्‍याउनु नगरपालिकाको अर्को उद्देश्य समेत रहेको बताउनु भयो । उहाँका अनुसार नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयहरूमा ‘एक शिक्षक एक ल्यापटप’ को नीति अघि बढाउँदै ‘पेपर लेस शिक्षा’ को अवधारणालाई अघि सारिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button