गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा २९ अर्ब ३० करोड २६ लाख राजस्व सङ्कलन
पोखरा । गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा २९ अर्ब ३० करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा अनुदानका साथै अन्तर सरकारी वित्तीय हस्तान्तरण र आन्तरिक स्रोत बाट २९ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
गत वर्ष सरकारले गरेको बजेट खर्च कटाएर बाँकी रहेको रकमलाई प्रदेशको सञ्चित कोषमा जम्मा गर्ने गरिन्छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा कम राजश्व गत आर्थिक वर्षमा उठेको छ । ०७६/०७७ मा गण्डकी प्रदेशले २९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ का साथै अन्य कारणले राजश्व कम उठेको हो ।
गण्डकीका ४१ स्थानीय तहहरूले प्रदेशलाई गत आर्थिक वर्ष २०७७/७८ मा २२ करोड ३८ लाख रुपैयाँ राजस्व बुझाउँदा अन्य ४४ स्थानीय तहले भने राजश्व प्रदेश सरकारलाई बुझाएका छैनन् । स्थानीय तहहरूले उठाउने राजस्वबाट ६०/४० को अनुपातमा बाँडफाँट गर्ने गरिन्छ । ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा ४१ स्थानीय तहले १३ करोड रुपैयाँ प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा पुँजीगततर्फ १७ अर्ब ६० करोड ५६ लाख र चालुतर्फ ८ अर्ब ५ करोड रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्