जुम्लामा कुनै धार्मिक मेला नलाग्ने, १५ दिन निषेधाज्ञा थप

जुम्ला । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जुम्लामा लाग्ने कर्णालीकै सबैभन्दा लामो जात्रा यस वर्ष पनि नलाग्ने भएको छ । कोरोना संक्रमण फेरी बढ्दै गएको र जात्रा सँगै धार्मिक मेला महोत्सवले संक्रमण बढाउने भएकोले जात्रा सँगै सबै मेला महोत्सव पूर्ण रुपमा बन्द गरिने भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण बढ्दै गइरहेको समयमा तेस्रो भेरियन्टको कोरोना सर्न सक्ने भन्दै समितिले सबै धार्मिक मेला गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार धार्मिक मेलाले कोभिड संक्रमण बढ्ने भएकाले पूर्ण बन्द गर्ने निर्णय गरिएको छ । यसै गरी पछिल्लो समय बिहान ६ देखि दिउसो ४ बजे सम्म हुँदै आएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । दुई साता सम्मका लागि पहिलेकै जस्तो कायम रहने गरी १५ दिन निषेधाज्ञा थप गरिएको छ । भने, अत्यावश्यक काम बाहेक भिडभाड गर्न नपाइने तथा बजार बन्द हुँदै आएको छ ।
जुम्लामा भदौ महिना लागे सँगै विभिन्न धार्मिक मेला लाग्ने भएकोले जोखिम बढ्न सक्ने भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय गम्भीर भएर जुट्नु पर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ । जुम्लाका आठै वटा स्थानीय तहले गाउँघरमा हुने भिडभाडलाई नियन्त्रण गर्ने तथा सचेतनाका कार्यक्रमलाई जोड दिने भएका छन् । यद्यपि, विगतकै सिकाइलाई हेर्दा जोखिम बढे पनि निषेधाज्ञा सदरमुकाममा मात्रै लागु हुने र गाउँघरमा भिडभाड नरोकिने देखिन्छ ।
गत वर्ष तीर्थयात्रामा समेत रोक लगाइएको थियो । तर यस वर्ष कर्णालीका विभिन्न स्थानमा जाने तीर्थयात्रामा रोक लगाइएको छैन । जसका कारण तिर्थालुको आवतजावतले पनि भिडभाड बढ्ने देखिएको छ । भने, जुम्लाका राजनीतिक दलका कार्यक्रमहरूले पनि सङ्क्रमणको जोखिम बढाएको छ ।
मन्त्री आउने गाउँ गाउँमा हुने भिडभाड र विभिन्न पार्टीका गाउँ गाउँमा भइरहेका सभा सम्मेलनले पनि सङ्क्रमणको जोखिम बढाएको भन्दै यसको रोकथाममा प्रशासनले ध्यान दिनुपर्ने पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्