तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा धान जोन क्षेत्र सिफारिस

मकवानपुर । मकवानपुरमा धान जोन क्षेत्र सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत जिल्लाको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका वडाहरू मिलाएर धान जोन क्षेत्र सिफारिस गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकवानपुरको बैठकले जिल्लाका दुई स्थानीय तहका वडाहरू मिलाएर धान जोन क्षेत्र निर्धारण गरेर सिफारिस गरेको हो । परियोजना कार्यान्वयन इकाई मकवानपुरका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जोन क्षेत्र प्राविधिक प्रतिवेदनको आधारमा जिल्लाको हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ६, ७, ८, १२, १६, १७ र १८ तथा मनहरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ लाई क्षेत्र निर्धारण गरी सिफारिस गरिएको हो ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरूप सरकारले सञ्चालन गरेको कार्यक्रम अन्तरगत यी दुई पालिका जोड्दा क्षेत्र पुग्ने हुँदा जोन कार्यक्रम सिफारिस गरिएको प्रमुख खुलालले बताउनुभयो । परियोजना अन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग प्रदान गरिने उहाँले बताउनुभयो । बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको माग तथा प्रविधिको प्रतिवेदनका आधारमा यी क्षेत्रलाई धान जोनका रुपमा रुपमा छनोट गरेर सिफारिस गरिएको उहाँले बताउनुभयो ।

यस्तै बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गरिनुका साथै आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समीक्षा समेत गरिएको थियो । बैठकमा समितिका सदस्यहरु, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगनाथ दाहाल, डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख ईमनाथ पौड्याल, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका मनोहर रिजाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसी, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, कृषि ज्ञान केन्द्र चितवनका युवराज पाण्डेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button