१०२ पाथी बिउँ लाग्ने खेत पहिरोले बगाउँदै, बस्ती पनि जोखिममा

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना काँडाकोटको राक्से खेत पहिरोले बगाउन थालेको छ ।
लगातारको अविरल वर्षा सँगै पहिरो जाँदा दर्नाको काडाकोटका केही बस्ती जोखिममा परेका छन् भने खेत पनि बगाएको छ । गाउँ तलबाट पहिरो जान थालेपछि उक्त टोलका केही बस्तीहरू जोखिममा छन् ।
दर्नाको काँडाकोट स्थित धामीटोल र कठायत टोलका करिब १२ परिवारको १ सय २ पाथी बिउँ लाग्ने खेत समेत पहिरोले बगाउन थालेको छ । अहिले खेतको बीच भागबाट पहिरो बगिरहेको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभयो ।
केही भाग बगाइसकेको छ, भने केही खेत पहिरोका कारण भासिएको छ । निरन्तर पहिरो बग्न थालेपछि ३ वटा घर छाना अति जोखिममा रहेका स्थानीय किसानहरूले बताएका छन् ।

पहिरोले स्थानीय पाथे धामी, कुले धामी, जहरी धामीको घर, छाना अति जोखिममा छन् । विगतका वर्षमा पनि बर्षायामको समयमा पहिरोले खेत बगाउँदै आएको थियो ।
पहिरोको रोकथामका लागी उचित पहल नभएकाले थप जोखिम निम्तन सक्ने स्थानीय नागरिकहरूको भनाई छ ।
वर्षभरि काम गरेर घरपरिवार पाल्नुपर्ने किसानहरू अहिले पहिरोले खेत बगाउँदै सखाप हुने स्थितिमा पुगेपछि ठुलो समस्यामा परेका छन् । यो समयमा अब के गरेर घरपरिवार पाल्ने भनेर उनीहरूलाई समस्याले पिरोल्न थालेको छ ।
साथै स्थानीय सरकार लगायत अन्य विभिन्न निकायले पहिरो लाई रोकथामका लागि पहल गरिदिनुपर्ने माग छ भने, राहतको समेत व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
पहिरोको रोकथाम र थप क्षति हुन नदिनका लागि पहल गर्ने पहिरोको अवस्थाबारे बुझेर फर्किनु भएका वडा अध्यक्ष कडायतको प्रतिबद्धता छ ।








प्रतिक्रिया राख्नुहोस्