तपाईँ सुन्दै हुनुहुन्छः

समाचार र कार्यक्रमको स्तरवृद्धि सम्बन्धी अनलाइन तालिम सम्पन्न

काठमाडौँ । रेडियो नेपालले समाचार र कार्यक्रमको स्तरवृद्धि गर्न साउन २८ गतेदेखि सञ्चालन गरेको अनलाइन तालिम आज सम्पन्न भएको छ ।

भर्चुअल तालिमको समापन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको सेवालाई आगामी दिनमा थप सशक्त र विश्वसनीय बनाउन तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

रोल–मोडल बनेर काम गर्न खोजेको अवस्थामा सबै प्रकारका ज्ञान, सीप आवश्यक  हुने भन्नुहुँदै कार्यकारी निर्देशक केसीले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले, सिक्ने सिकाउने यस्ता प्रक्रिया आगामी दिनमा पनि निरन्तर चलिरहने समेत जानकारी दिनुभयो ।

रेडियो नेपाल सञ्चालक समितिका सदस्य एवं कार्यक्रम महाशाखा प्रमुख टीका भण्डारीले तालिमबाट प्राप्त ज्ञान, सीप र दक्षतालाई आफ्नो कार्यमा रूपान्तरित गरेमा मात्रै हाम्रो प्रसारण थप प्रभावकारी  हुने बताउँदै सिकेका कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।

रेडियो नेपालका निर्देशक एवं व्यापार महाशाखा प्रमुख खगेन्द्र खत्रीले छोटो समयमा योजना बनाएर सुरु गरिएको तालिममा उत्साहपूर्ण सहभागिता रहेको उल्लेख गर्नुहुँदै यसबाट रेडियो नेपालको प्रसारण सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विभिन्न समस्याहरूको बीचमा पनि प्रसारणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेर तालिम आयोजना गरिएको पनि निर्देशक खत्रीले बताउनुभयो ।

तालिममा विज्ञहरू विनय गुरागाईँ, उपेन्द्र अर्याल र मधु आचार्यले प्रसारणलाई प्रभावकारी बनाउनका लागि समाचार र कार्यक्रमका विभिन्न शैलीका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

समाचार बाहेकका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखी प्रसारण गर्न सकेको खण्डमा श्रोताहरूलाई रेडियोप्रति थप आकर्षित गर्न सकिनेमा जोड दिँदै रेडियो नेपालले अन्य एफ एम भन्दा फरक शैलीमा प्रस्तुत हुनुपर्नेमा पनि विज्ञहरूले जोड दिनुभयो ।

तालिममा रेडियो नेपालको केन्द्र र प्रदेशमा रहेर विभिन्न भाषामा कार्यरत समाचार र कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिमले रेडियो नेपालको प्रसारण एवं प्रस्तुतिलाई कसरी आकर्षक र लोकप्रिय बनाउने भन्ने विषयमा धेरै जानकारी दिएको र प्रविधिसँगै अगाडी बढ्नका लागि पनि तालिम फलदायी हुने भन्दै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने तालिमका सहभागीहरूले जोड दिनुभएको थियो ।

तालिमको सहजीकरण रेडियो नेपाल तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button