झापामा पहिलो पटक ‘मास्क बैंक’ स्थापना
झापा । सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पर्याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ ।
झापा जिल्लामै पहिलो पटक स्थापना भएको मास्क बैंकबाट स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ ।
एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान सुरु गरेको थियो ।
हाल मास्क बैंकमा रेडक्रसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लेखनाथ चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।
‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिँड्न बाध्य भएकालाई निःशुल्क बाँड्छौँ,’ सभापति गिरीले भन्नुभयो, ‘यसले सरकारले सुरु गरेको अभियानलाई सहयोग पनि पुग्छ र आम नागरिकलाई मास्क लगाउनुपर्ने रहेछ भन्ने सचेतना पनि बढ्छ ।’








प्रतिक्रिया राख्नुहोस्