तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पताललाई १ करोड ३७ लाख बराबरको अक्सिजन प्लान्ट हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई हेटौँडाका व्यवसायीहरूले अक्सिजन प्लान्ट हस्तान्तरण गरेका छन् । 

कोरोना संक्रमण वृद्धि भएसँगै अस्पतालमा अक्सिजन अभाव कम गर्ने उद्देश्यका साथ उद्योग सङ्घ मकवानपुरले विभिन्न उद्योगी व्यवसायद्वारा रकम सङ्कलन गरेर खरिद गरेको अक्सिजन प्लान्ट आइतबार अस्पताललाई हस्तान्तरण गरेका हुन् । 

जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योग सङ्घ मकवानपुरले अक्सिजन प्लान्ट खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । 

३१ जना उद्योगी व्यवसायीबाट सङ्कलित रकमबाट एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा प्लान्ट खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । 

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको थियो । 

प्लान्टबाट दैनिक १ सय १५ देखि १ सय २० सिलिण्डरसम्म अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ । 

अक्सिजन प्लान्टको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट उद्घाटन गरी अक्सिजन उत्पादन सुरु गरिएको छ । 

अक्सिजन प्लान्टको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पतालको सेवा वृद्धि गर्न प्रदेश सरकार लागेको बताउनुभयो । 

दुई वर्षभित्र ५सय शय्याको अस्पताल निर्माण गर्ने लक्ष्यकासाथ भवन निर्माणको काम भइरहेको बताउनुहुँदै मुख्यमन्त्री पौडेलले निजी क्षेत्रले समेत सहकार्य र सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले अक्सिजन प्लान्टका लागि जिल्ला समन्वय समिति मकवानपुरले विशेष पहल गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । 

यस्तै जिल्ला समन्वय समिति मकवानपुरकै समन्वय र सहकार्यमा जिल्लामा सरुवा रोग अस्पताल निर्माणको काम अगाडी बढेको हुँदा त्यसमा सबैको साथ र सहयोग हुनु पर्ने उहाँको भनाई थियो । 

मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी भएपछि हेटौँडामा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आमूल परिवर्तन आएको बताउनुभएको छ । 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोरोना नियन्त्रण र उपचारका लागि काम गर्न सहज भएको बताउनुभयो । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले गरेको आग्रहलाई स्वीकार गर्दै उद्योग सङ्घ मकवानपुरले व्यवसायीहरूको सहयोगबाट अस्पताललाई अक्सिजन प्लान्ट उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । 

उहाँले जिल्ला समन्वय समितिकै समन्वय तथा मकवानपुरका स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको समेत सहकार्य हुने गरी सरुवा रोग अस्पताल निर्माण प्रक्रिया सुरु भएकाले यसमा समेत सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

अस्पतालमा अहिले ३९ जना कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको छ । 

अस्पतालमा १७ बेड आइसियु, १६ शय्याको एचडीयू, भेन्टिलेटरसहितको ६ वटा र आकस्मिक कक्षमा ८ वटा बेड रहेका छन् । अस्पतालमा अहिले जम्मा १ सय २० शय्या रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button