तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको निशान भगवती मन्दिरमा पर्यटकको चहलपहल बढ्न थाल्यो

पाल्पा । नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले नवनिर्मित निशान भगवती मन्दिरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । 

कोरोना महामारीले अन्य पर्यटकीय स्थल बन्द रहेको समयमा निशान मन्दिरमा भने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

अहिले निशान मन्दिरमा दैनिक एक सय बढी पर्यटकले अवलोकन गर्दै आएका छन् । 

साउनको महिना र निषेधाज्ञा खुकुलो भएसँगै दैनिक बिहान बेलुका पूजा गर्ने समयमा पर्यटकले मन्दिर अवलोकन गर्दै आएको मन्दिरका हेरालु छविराम रोकाले बताउनुभयो ।

रोकाका अनुसार बिहानमा बुढापाकाहरू पूजा गर्न मन्दिरमा जाने गरेका छन् भने बेलुकाको समयमा युवा पुस्ताले मन्दिरको अवलोकन गर्दे आएका छन् ।

अहिले बिहान र बेलुका दुई/दुई घण्टा मन्दिरको नृत्य पूजा गर्ने क्रममा मन्दिर अवलोकन गर्नका लागि आउने जिल्ला भित्रकै पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

निशान मन्दिरसँगै पाल्पाली करुवाको अवलोकन गर्ने र फोटो र भिडियोमा टिकटक बनाउनका लागि समेत पर्यटकहरूले मन पराउने गरेका छन् । 

महामारीको समयमा अन्य स्थानमा घुम्न जाने वातावरण नभएको समयमा निशान मन्दिर क्षेत्रको अवलोकन गरेको पर्यटक लक्ष्मण अर्यालले बताउनुभयो । 

सरकारले मठ मन्दिरमा नृत्य पूजा मात्र गर्न भनेको हुँदा मन्दिरमा अवलोकन गर्न आउनेहरूका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न मन्दिर व्यवस्थापनले अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button