तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोत्तम सिमेन्टको शेयर खरिदसँग जोडेर गलत लाञ्छना लगाइयो : भिष्मराज ढुङ्गाना

काठमाडौँ । धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुङ्गानाले सर्वोत्तम सिमेन्टको शेयर खरिदसँग जोडेर गलत लाञ्छना लगाइएको बताउनुभएको छ । 

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा बोर्डका अध्यक्ष ढुङ्गानाले विवाहित छोरीले किनेको शेयरका विषयलाई आचारसंहिताले गलत नभनेको दाबी गर्नुभयो । 

बुक बिल्डिङ प्रक्रियामार्फत आइपिओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिदमा बोर्डका अध्यक्ष ढुङ्गानाको नाम जोडिएपछि समितिले बोर्डका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो । 

छलफलमा सांसदहरुले नियामक निकायका पदाधिकारी र स्वयम् प्रमुखकै नाम  आचारसंहिता विपरीतको गतिविधिसँग जोडिनु आपत्तिजनक भएको भन्दै यसले पुजीबजारलाई नकारात्मक असर पार्ने बताउनुभयो । 

सांसदहरुले संवेदनशील क्षेत्र र त्यसको नियामक निकायका प्रमुखहरूकै नाम जोडिएकाले यसको छानबिन गर्न र अर्थ मन्त्रालयसँग पनि छलफल गर्नुपर्ने धारणा राख्नुभयो । 

बोर्ड अध्यक्ष ढुङ्गानाले छोरीको नाममा र नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चन्द्र सिंङ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको सूचना विभिन्न सञ्चार माध्यममा आएसँगै दुवैलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button