अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा खुल्ला दौड आयोजना

मकवानपुर । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा हेटौँडामा शनिबार ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगितामा आयोजना गरिएको छ ।
प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको दौड प्रतियोगितामा हेटौँडाका महेश मोक्तान प्रथम भएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा भएको दौडमा ४० धावक सहभागी थिए ।
हेटौँडाको बुद्ध चोकबाट सुरु भएको दौड प्रतियोगिता हेटौँडा–५ पिप्लेसम्म पुगी पुनः बुद्धचोकमै आएर समापन भएको थियो । प्रतियोगितामा प्रथम भएका हेटौँडा १३ वनस्पतिका महेश मोक्तानले निश्चित दुरी १६ मिनेट ३४ सेकेन्डमा पुरा गरेका थिए । यस्तै प्रदेश प्रहरी कार्यालय हेटौँडाका सुरेश साह दोस्रो भएका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरे । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गर्दै तृतीय हुन सफल भए ।
प्रदेश युवा परिषद्ले अगस्ट १२ बाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो कार्यक्रमको रुपमा दौड प्रतियोगिताको आयोजना गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्