तपाईँ सुन्दै हुनुहुन्छः

खैरेनीटार–भिमाद सडक खण्ड स्तरोन्नति गरिँदै

तनहुँ । खैरेनीटार–भिमाद–भुमरीघाट हुँदै कावासोती जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । 

सडक डिभिजन कार्यालय दमौलीले खैरेनीटारदेखि साढे ५ किलोमिटर भिमादतर्फको स्तरोन्नतिको जिम्मा दिएर काम सुरु भइसकेका सूचना अधिकारी नारायण पौडेलले जानकारी दिनुभयो । 

एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले ७ करोड ४५ लाख २१ हजार रुपैयाँमा सक्ने गरी गएको वैशाख १३ गते सम्झौता गरेको हो । सो कार्य आगामी २०७९ साल कार्त्तिक १३ गतेसम्म सम्पन्न गर्नुपर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो । 

‘३ महिना अघि नै सम्झौता भए पनि वर्षाका कारण सुरुवात गरिएको थिएन,’ सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘वर्षा कम भएसँगै कहिदिन अघि काम सुरु गरेका हौँ । उहाँका अनुसार अहिले म्याग्दे गाउँपालिका क्षेत्रमा कटिङको काम सुरु भइसकेको छ । 

खैरेनीटार–भिमाद खण्डका विभिन्न स्थानमा (कालोपत्रे) पिच भत्किएर जीर्ण भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने गरेको छ । सो खण्डको कतिपय स्थानमा साँघुरो हुँदा चार पाङ्ग्रे सवारी दुई तर्फी आवतजावतमा समेत समस्या हुँदै आएको थियो । सडक चौडाइ हुने भएपछि सवारी आवतजावतमा सहज हुने विश्वास गरिएको छ । 

खैरेनीटार–भिमादसम्मको दुरी कुल ७ किलोमिटर छ । साढे ५ किलोमिटर स्तरोन्नति भएपछि डेढ किलोमिटर बाँकी रहने कार्यालयले जनाएको छ । 

हाल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका खण्डमा सडक चौडाइ हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button