तपाईँ सुन्दै हुनुहुन्छः

गेटा मेडिकल कलेजलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग

कञ्चनपुर । प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन् । कलेजलाई विश्वविद्यालय मातहत ल्याएर आगामी वर्षदेखि पठनपाठन सञ्चालन गर्न सङ्गठनमा आबद्ध विद्यार्थीले माग गरेका हुन् ।

प्रस्तावित मेडिकल कलेजलाई तत्काल छिटोभन्दा छिटो सुप विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन–अध्यापन सञ्चालन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव गणेश सिंह ऐरीले बताउनुभयो । “मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने छलफल पनि थालिएको छ”, उहाँले भन्नुभयो, “प्रतिष्ठान नभएर सुुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउनुपर्छ ।”

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय विसं २०६६ मा घोषणा गरिएको थियो । विद्यार्थी सङ्गठनले मेडिकल कलेज सञ्चालनमा सरकार उदासीन देखिएको आरोप समेत लगाएका छन् । “मेडिकल कलेज सञ्चालनमा राज्यले देखाएको उदासीनताले सबै चिन्तित छौँ”, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सह महामन्त्री अच्युतराज कलौनीले भन्नुभयो, “प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन । त्यो छिटो तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।”

अहिले आएर मेडिकल कलेजका रूपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भइरहेको उहाँले बताउनुभयो । विद्यार्थीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयमार्फत प्रधानमन्त्री देउवालाई शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको पठनपाठन सञ्चालन गर्न माग गर्दै बिहीबार माग पत्रसमेत बुझाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button