तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो : प्रहरी महानिरीक्षक थापा

सुनसरी । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्र आज बिहीबार बिहान भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै थापाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन सँग सँगै कार्यरत प्रहरी  कर्मचारीहरूमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रूपान्तरण हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो । 

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित वासस्थानको भरपर्दो व्यवस्था बिना नै काम कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित वासस्थान प्राप्त भए सँग सँगै अब थप हौसलाका साथ काम कारबाही गर्ने र विविध आपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा व्यक्त गर्नु भएको थियो । 

यसै गरी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले विकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न सक्ने हुँदा यस्ता किसिमका सुविधा सम्पन्न नव निर्मित भवनले केही हद सम्म सहयोग गर्ने बताउनुभयो । 

१ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँगै अब नागरिक सेवामा विगतका दिनहरू भन्दा प्रभावकारी ढङ्गले  अगाडी बढ्न नव निर्मित भवनको योगदान रहने विश्वास व्यक्त गर्नु भयो ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न महिला सञ्जाल, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरूका साथै स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button