सीसीएमसीका प्रमुख शर्मा नेतृत्वको टोलीद्वारा वीरगंजमा स्थलगत निरीक्षण

वीरगंज । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्मा नेतृत्वको टोलीले कोरोना सङ्क्रमणको तेस्रो लहर नियन्त्रणका लागि वीरगंजमा भई रहेको आवश्यक तयारीको स्थलगत निरीक्षण गर्नुका साथै आवश्यक जानकारी समेत लिएको छ ।
टोलीले वीरगंज सीमा नाकाको अवलोकन समेत गरेको छ । टोलीले वीरगञ्जमा कोभिड–१९ को अवस्थाको बारेमा बुझ्नुको साथै वीरगञ्ज भन्सार परिसरमा १ हजार क्षमताको निर्माणाधीन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण समेत गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
टोलीमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएसीका प्रमुख शर्मा सहित १० जनाको सहभागिता रहेको छ । टोलीले पर्सा जिल्लामा कोभिड–१९ नियन्त्रणका लागि भई रहेका गतिविधि, खोप कार्यक्रम र पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

वीरगंज भन्सार परिसरमा २७ करोड ९० लाखको लागतमा १ हजार क्षमताको होल्डिङ सेन्टर तीव्र गतिमा नेपाली सेनाको व्यवस्थापनमा निर्माण भई रहेको घिमिरेले बताउनुभयो ।
होल्डिङ सेन्टर सञ्चालनमा आएपछि वीरगंज रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई क्वारेन्टीनमा राखेर खाने, बस्ने र चिकित्सा सेवा समेत निःशुल्क रुपमा प्रदान गर्ने सरकारी तयारी रहेको छ ।
अनुगमन टोलीका सदस्य डाक्टर भगवान् कोइरालाले ठूलो सङ्ख्यामा मानिस राख्ने गरि होल्डिङ सेन्टर निर्माण भई रहेको र यसको व्यवस्थापनका लागि पनि सरकार उतिकै चनाखो र सचेत हुनु पर्ने बताउनुभयो ।
होल्डिङ सेन्टरबाटै संक्रमण फैलिन सक्ने खतरा तर्फ अहिले नै आवश्यक तयारी गरिनु पर्ने कुरामा चिकित्सक कोइरालाले जोड दिनुभयो ।
उहाँले रेडियो नेपालसँग संक्षिप्त कुरा गर्दै वीरगंज लगायत तराईका जिल्लाहरूमा मास्क नलगाउने प्रवृत्ति हाबी भएको आफूले देखेको बताउँदै बीरगंजमा हाल संक्रमण कम देखिनुको पछाडि परीक्षणको दायरा कम भएर हुन सक्ने कुरामा जोड दिनुभयो ।
टोलीले आजै जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला कोभिड–१९ व्यवस्थापन समिति सीसीएमसीका सदस्य तथा अन्य सरोकारवालासँग छलफल समेत गरेको छ ।
टोलीमा नेपाली सेनाका उपरथी अनन्त कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम खतिवडा, गृह मन्त्रालयका सह सचिव नूरहरि खतिवडा लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीलाई जिल्ला कोभिड–१९ व्यवस्थापन समिति सीसीएमसी पर्साले हाल जिल्लामा १९ जना संक्रमित रहेको र ३ जनाको आइसियुमा उपचार भई रहेको जानकारी गराएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्