अछाममा करिब ५३ हजारले कोभिड विरुद्धको खोप लगाए

अछाम ।अछाम जिल्लामा ५३ हजार बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जिल्लामा तेस्रो चरणको खोप अभियान सञ्चालन हुँदै गर्दा हालसम्म कोभिसिल्ड, भेरोसेल तथा जोन्सन एण्ड जोन्सन गरी अछामका ५३ हजार १ सय ९२ जनाले खोप लगाएका छन् ।
अहिले जिल्लामा तेस्रो चरणको खोप अभियान चलिरहेको छ । तेस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लामा ८ हजार १ सय ४० बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । यही साउन २५ गतेबाट अछाममा तेस्रो चरणको खोप अभियान सुरु गरिएको हो ।
तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका लक्षित समूहका सबैलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनु भयो ।

कोभिड–१९ विरुद्ध खोप अभियान सञ्चालन तथा व्यवस्थापन समितिको साउन २४ गते बसेको बैठकले जिल्लामा उपलब्ध खोपको आधारमा ४५ देखि ४९ बर्ष सम्मका नागरिकलाई जोन्सन एण्ड जोन्सनको एक मात्रा खोप लगाउने निर्णय गरेको थियो ।
जस अनुसार ८ हजार १ सय ४० बढी सर्वसाधारणले जोन्सन एण्ड जोन्सनको एक मात्रा खोप लगाइका स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
अछामका शिक्षकहरूलाई भेरोसेल खोपको पहिलो र दोस्रो मात्र लगाइने छ ।कोभिशिल्डको पहिलो मात्रा २० हजार ५ सय ७४ र ३ हजार २ सय ८ जनाले दोस्रो मात्रा लगाएका छन् । यस्तै भेरोशिलको खोप अन्तर्गत १९ हजार ८ सय १९ जनाले पहिलो मात्रा र १ हजार ४ सय ५१ जनाले दोस्रो मात्रा खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी शम्भुनारायण पन्तले जानकारी दिनुभयो ।

अछाममा गत बर्ष माघ १४ गते कोरोना विरुद्धको खोपको पहिलो चरण सुरु गरिएको थियो । तत्कालीन अवस्थामा भारतले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको थियो । कोरोना विरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियान अछाममा सम्पन्न भैसकेको छ । पहिलो चरणमा खोप लगाएकाहरू दोस्रो डोज लगाइरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
अछाममा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, एम्बुलेन्स चालक, उमेर समूहका ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्