जुम्ला बजारमा भालुको आक्रमणले दुई जना घाइते

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा बिहीबार बिहान भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेतिर भालुले आक्रमण गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल सपल सञ्चालन गरिरहनु भएका हेमराज रोकाया र उहाँकी श्रीमती निर्मला रोकाया घाइते भएको प्रत्यक्षदर्शी स्थानीय देवेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हेमराजलाई बिहानै उठेर नुहाउने क्रममा एकाएक धारामा भालुले आक्रमण गरेको हो ।खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराजका दम्पत्तीलाई भालुले आक्रमण गरी घाइते बनाएपछि उनीहरूको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते निर्मला रोकायको अनुहारमा चोट लागेको छ भने, हेमराज रोकायाको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । घाइते दम्पतीको अवस्था सामान्य रहेको छ ।

यता प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले बिहानैदेखि भालुको खोजी भइरहेको तर नभेटिएको बताउनुभयो । नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकाय खोजी कार्यमा जुटिरहेको डिएसपी थापाको भनाई छ ।
उहाँले भालु नियन्त्रणमा नआइसकेकोले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको बताउनुभयो । कुनै पनि बेला घटना घट्न सक्ने भएकाले सुरक्षित तथा सचेत रहन रेडियोबाट सूचना समेत जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बजारमै भालु पसेर आक्रमण गरे पछि अन्य स्थानीय नागरिक भने त्रसित छन् ।








प्रतिक्रिया राख्नुहोस्