तपाईँ सुन्दै हुनुहुन्छः

पुष्पलपुर सामुदायिक वन देशकै उत्कृष्ट वनको राष्ट्रिय पुरस्कारबाट सम्मानित

जनकपुरधाम । देश भरिको सामुदायिक वन मध्ये धनुषाको पुष्पलपुर सामुदायिक वनले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । 

नेपाल सरकारको वन तथा भूसंरक्षण विभागले वर्षेनी रुपमा प्रदान गर्दै आएको सो पुरस्कारमा १ लाख नगद तथा सम्मान पत्र रहेको छ । 

देशमा रहेको २२ हजार सामुदायिक वन मध्ये वनको संरक्षणमा उत्कृष्ट काम गरे बापत धनुषाका पुष्पलपुर सामुदायिक वनलाई एक कार्यक्रमका बीचमा सो पुरस्कार प्रदान गरिएको धनुषाका डिभिजन वन अधिकृत सुनिल कुमार कर्णले जानकारी दिनुभयो । 

यसै गरी निजी वन व्यवस्थापनमा उत्कृष्ट काम गरे बापत धनुषाको मिथिला नगरपालिकामा निजी वनका व्यवस्थापनमा राम्रो काम गरे बापत निजी वन व्यवस्थापक द्वय शिला देवी साह तथा शिवनन्दन साहलाई २५ हजार रुपैयाँ र सम्मान पत्र सहित यस विधाका तेस्रो पुरस्कार प्रदान गरिइएको छ । 

खास गरेर विगत दुई तीन वर्ष यता वन क्षेत्रमा राम्रो काम गरेका कारणले नै धनुषा जिल्लामा वन क्षेत्रको क्षेत्रफल वृद्धि हुनुका साथै उजाड बनेका कतिपय चुरेका भागहरू पुनः हरियो बन्दै गएको छ ।

कार्यक्रममा सामुदायिक तथा निजी वन संरक्षण कार्यक्रममा सहयोग गरे बापत डिभिजन वन कार्यालय धनुषाका डिभिजन वन अधिकृत सुनिल कुमार कर्णलाई पनि विभागले सम्मान पत्र प्रदान गरेर सम्मानित गरेको छ । 

यसै गरी सामुदायिक वन तथा निजी वन तर्फ उत्कृष्ट काम गरे बापत अन्य जिल्लाका सामुदायिक वन, साझेदारी वन तथा निजी वन तर्फका विभिन्न व्यक्तिहरूलाई खादा, नगद तथा सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button