अस्पतालका कर्मचारी नै औषधी बिक्रेता

वीरगंज । मध्य तराईका बिरामीहरूको उपचारको केन्द्रको रुपमा रहेको नारायणी अस्पतालमा कार्यरत कर्मचारीहरू नै औषधी विक्रेता समेत भएपछि बिरामी र तिनका कुरुवा प्रभावित भएका छन् ।
नारायणी अस्पतालमा कार्यरत कर्मचारीहरूले बिरामी तथा कुरुवालाई ललाइफकाई आफूहरूले सञ्चालन गर्दै आएको पसलबाट औषधी किन्न बाध्य पार्ने गरेको पीडितहरूको गुनासो छ ।
अस्पतालका कर्मचारीहरूले केही प्रतिशत छुटमा औषधी उपलब्ध गराइदिने भन्दै ललाइफकाई बिरामीहरूलाई आफ्नो पसलबाट औषधी खरिद गर्न बाध्य पारेको तथ्य सार्वजनिक भएको छ ।
रौतहटका एक बिरामीले मेडिकल सर्जिकल वार्डका एक कर्मचारीले आफूले बताएको पसलबाट औषधि खरिद नगरेको भन्दै पुर्जी नै च्यातिदिएको गुनासो गरेका छन् । नारायणी अस्पतालमा काम गर्ने अधिकांश कर्मचारीको आफ्नै औषधि पसल रहेको छ ।
ती कर्मचारीहरूले नै अस्पतालका बिरामीलाई आलोपालो गरेर आफ्नो पसलमा पठाउने गरेका छन् । नारायणी अस्पतालमा उपचारका लागि दैनिक ३ सय भन्दा बढी बिरामी पुग्ने गर्दछन् ।
गरिब जनताको उपचारको केन्द्र बनेको नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट जिल्लासम्मका बिरामीहरू उपचारका लागी आउने गरेका छन् ।
अस्पतालका कर्मचारी तथा औषधी बिक्रेताहरूले बीरगंज बाहिरबाट आएका बिरामी तथा बिरामी कुरुवाको पछि लागेर आफ्नो पसलबाट औषधी किन्न दबाब दिँदै हैरानी दिने गरेको पीडितहरूले गुनासो गरेका छन् ।
औषधी बिक्रीको नाममा अस्पतालमा कर्मचारीहरूले नै बिरामीलाई आतङ्कित पार्दा समेत कुनै निकायले कारबाही नगरेको भन्दै पीडितहरू आक्रोशित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्