अस्ट्रेलिया नेपाली समाजद्वारा बाढी प्रभावितलाई सहयोग

सिन्धुपाल्चोक । अस्ट्रेलियाको ब्रिसवेनवासी नेपाली समाज र युनाइटेड गोर्खा भलिबल क्लबद्वारा सङ्कलित रकम मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरूलाई सहयोग गरिएको छ । अस्ट्रेलिया निवासी जयविक्रम सिलवालको सहकार्यमा सङ्कलित नेपाली रुपियाँ ३ लाख १४ हजार १ सय रकम हस्तान्तरण गरिएको हो । आज मेलम्चीमा कार्यक्रम गरी समाजसेवी गणेशविक्रम सिलवाल र किरणदीप खड्काले प्रभावितहरूलाई सङ्कलित रकम हस्तान्तरण गर्नुभएको हो ।
सङ्कलित रकमबाट मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिलाई रु १ लाख, पाँच पोखरी थाङपाल गाउँपालिकालाई रु ५० हजार, चनौटे युवा क्लबलाई रु ३० हजार, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ लाई रु ३० हजार, हेलम्बु गाउँपालिकालाई ५० हजार, तेर्से माविलाई ४० हजार र रेडियो मेलम्चीलाई १४ हजार १ सय प्रदान गरिएको छ । त्यसै गरी फ्रान्समा बस्ने नीराजन खड्का, क्यानडाका प्रतिज्ञा कार्की, उदयपुरका सन्तोष दाहाल, सविता खड्का, लोकेन्द्र तामाङ र राष्ट्रिय मावि, उदयपुर, गाईघाट २०६२ ब्याचबाट सङ्कलित रकम पनि प्रदान गरिएको छ । सो रकमबाट अन्य प्रभावितलाई २६ हजार र मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिलाई १५ हजार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बाढी प्रभावितहरूको तर्फबाट सागरकुमार श्रेष्ठले सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सहयोग रकमले मेलम्ची बजारको संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्