स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ पारित गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गर्नु भएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सो विधेयक सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले पेश गर्नुभएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकै तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आजै सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सभा समक्ष पेश गर्नु भयो ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले रेल्वे विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।
यसअघि विशेष समयमा बोल्दै सांसदहरुले कोभिड–१९ को महामारी नियन्त्रणमा जोड दिन र महोत्तरीको नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्दै आएको मुसहर परिवारको व्यवस्थापन र कोरोना बिमा भुक्तानीलाई सहज बनाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले इलाम लगायतका ७ वटा चिया बगानको व्यवस्थापन गरिरहेको त्रिवेणी संघाई समूहले कार्यरत श्रमजीवीको श्रम शोषण गरिरहेको र सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक साउन २७ गते बुधवार दिउसो १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्