तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन कक्षा प्रभावकारी बनाउन तनहुँको केशवटार माविमा शिक्षकलाई ल्यापटप

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटार माविका शिक्षकहरूलाई ल्यापटप प्रदान गरिएको छ ।

अनलाइन कक्षालाई प्रभावकारी बनाउन एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत सोमबार विद्यालयका १५ जना शिक्षकहरूलाई ल्यापटप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर आलेले बताउनुभयो ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा व्यास–१४ का वडा अध्यक्ष काजिमान श्रेष्ठले शिक्षकहरूलाई ल्यापटप प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ लाख ५० हजार रुपैयाँ व्यास नगरपालिका मार्फत उपलब्ध गराइएको र विद्यालयको २० प्रतिशत रकम साझेदारीमा १५ वटा ल्यापटप खरिद गरी शिक्षकहरूलाई वितरण गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले कोरोना भाइरसको जोखिम कायमै रहेको र लामो समय देखी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नसकिएको र अझै यस्तो जोखिम अवस्था अनिश्चित भएको कारण अनलाइन शिक्षालाई प्रभावकारी बनाउन ल्यापटप खरिद गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा यस अघि नै इन्टरनेट जडान गरिसकिएको हुँदा ल्यापटप पाउने शिक्षकहरूले अव विद्यालयमा उपस्थित भएर अनलाइन कक्षा सञ्चालन गर्ने प्रअ आलेले बताउनुभयो ।

ल्यापटप पाउने शिक्षकलाई मङ्गलवार ल्यापटप चलाउने तरिका र अनलाइन पठन पाठन विधिबारे प्रशिक्षण दिइने छ ।

विद्यालयमा कार्यरत २२ शिक्षक मध्ये पहिलो चरणमा १५ जनाले मात्र ल्यापटप पाएको र अन्य शिक्षकहरूलाई प्रविधिको बारेमा तालिम प्रदान गरेर क्रमशः ल्यापटप प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button