तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रिय कमिटी बैठकः विधान संशोधन प्रस्ताव पारित

file photo

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । 


तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको केन्द्रिय कमिटी बैठकले त्यसअघि बसेको स्थायी कमिटीले पारित गरेको विधान संशोधन प्रस्ताव केन्द्रिय कमिटीले पारित गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । 


स्थायी कमिटीले पेस गरेको विधान महाधिवेशन भदौ २७ र २८ मा गर्ने प्रस्तावलाई आज बसेको केन्द्रिय कमिटीले पारित गरेको हो । 


एमालेले पहिलोचोटी गर्न लागेको विधान महाधिवेशनका लागि स्थायी कमिटीले पारित गरेको चार वटा कमिटीहरूलाई केन्द्रिय कमिटी बैठकले अनुमोदन गरेको छ । 


बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक मस्यौदा समिति, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक प्रतिवेदन मस्यौदा समिति, विधान संशोधन प्रस्ताव मस्यौदा समितिमा विष्णु पौडेल र व्यवस्थापन समितिको संयोजकमा रामबहादुर थापालाई चयन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 


बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने २३ वटा विषयहरूको संशोधन सम्बन्धी प्रस्तावलाई समेत पारित गरेको छ । 


नवौँ महाधिवेशनले १ सय ५९ सदस्य केन्द्रिय कमिटी निर्वाचित गरेको र अहिलेको आवश्यकतालाई ध्यान दिँदै २ सय २५ सदस्यीय केन्द्रिय कमिटी बनाउने समेत आजको बैठकले निर्णय गरेको छ । 


जसमा अध्यक्ष एक जना, उपाध्यक्ष दुई जना, महासचिव एक जना, उपमहासचिव दुई जना र सचिवहरू सात जना रहने गरी केन्द्रिय कमिटीको नयाँ संरचना प्रस्ताव गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 


यसैगरी अब एमालेभित्र केन्द्रिय कमिटी र पोलिटव्युरो रहने र सानो सचिवालय रहने प्रबन्धको प्रस्ताव गरिएका छ । 


एमालेले निर्वाचन प्रणालीमा फेरबदल गरेको जानकारी दिनुहुँदै प्रवक्ता ज्ञवालीले महाधिवेशनबाट अध्यक्ष र अन्य कमिटीका सदस्य चुन्ने व्यवस्था गरेको र अन्य पदाधिकारी भने कमिटीले चुन्ने प्रस्ताव आजको बैठकले पारित गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button