तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा थप

रोल्पा । रोल्पा जिल्लामा आज बसेको डिसिसिएमसि को बैठकले अर्को सूचना नभएसम्मका लागि लगाउँदै आएको निषेधाज्ञालाई थप गरेको छ ।

जिल्लामा कोभिड–१९ संक्रमण रोग नियन्त्रण तथा रोकथाम नभएको र बढिरहेको हुँदा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा बसेको बैठकद्वारा सो निर्णय गरेको हो ।

यसअघि बसेका बैठकहरू, स्वास्थ्य मापदण्ड अवलम्बन र निषेधाज्ञा कार्यान्वयन अवस्थाबारे समीक्षा गर्नुको साथै नगर तथा गाउँपालिका भित्रका केही विद्यालयहरूले भौतिक रुपमा उपस्थित भएर पठनपाठन गराइरहेको भन्ने सूचना प्राप्त भएकोले उक्त कार्यलाई तत्काल रोक्ने निर्णय समेत गरेको छ ।

त्यसै गरी प्रहरीले सञ्चालन गरेको तपाइको मास्क खोइ अभियानलाई गाँउगाँउ सम्म चेतना  फैलाउन नगर तथा गाउँपालिकाले आ–आफ्नो क्षेत्रमा सहयोग गर्ने साथै आज राति १२ बजे देखी लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागी निषेधाज्ञालाई थप गर्ने र निषेधाज्ञालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने निर्णय आजको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button